फेरी ओलीसँग मिल्न प्रचण्ड तयार !

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट एकता गरेर आफूहरुले गल्ती नगरेको बताए। बुधबार सल्यानको सल्लीबजारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फेरि पनि एकताको बाटोमा अगाडि बढ्नुको विकल्प नभएको बताए।

‘कम्युनिस्ट आन्दोलनको एकता अहिले पनि जरुरी छ, हामीले एकता गरेर गल्ती गरेको होइन, सही नै गरेको हो’, अध्यक्ष प्रचण्डले भने, ‘फेरि पनि कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नै पर्छ। फेरि पनि राष्ट्रिय दलहरुबीच सहमति गर्नै पर्छ।’

अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको एकताको प्रस्ताव आफूले गरेको बताउँदै त्यसले देशभरका कार्यकर्तामा उत्साह ल्याए पनि त्यो टिकाउ हुन नसकेको बताए। उनले ओलीले सहमति तोडेर एकलौटी रुपमा अगाडि बढेका कारण एकता नटिकेको बताए।

‘वाम एकताको लागि मैले गरेको प्रस्तावलाई देशभरबाट समर्थन थियो’, प्रचण्डले भने, ‘मेरो सपना तीन वर्ष पनि जीवित हुन सकेन।’

आफूलाई सबैभन्दा राष्ट्रवादी भन्ने ओलीले विदेशी शक्तिसमक्ष आत्मसमर्पण गरे: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिसामू आत्मसमर्पण गरेको बताएका छन्।

बुधबार सल्यानको सल्लीबजारमा आयोजित कार्यकर्ता भेटघाट तथा कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हिटलरको उदाहरण दिँदै ओलीले पनि आफूलाई सबैभन्दा बढी राष्ट्रवादी भएको बताउँदै विदेशीसामू आत्मसमर्पण गरेको बताएका हुन्। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले सबैले हस्ताक्षर गरेर जारी गरेको संविधान च्यात्ने, कुल्चने र मिच्ने काम गरेको आरोप लगाए।

‘यो संविधान सबैले हस्ताक्षर गरेर घोषणा गरिएको हो। त्यो संविधानलाई मिच्ने, च्यात्ने र कुल्चने कामको सुरुवात उहाँले गर्नुभयो। यो बडो बिडम्बना भयो। यस्तो सोचिएको थिएन।’

उनले इतिहासमा यस्ता घटना घटेको भन्दै कम्युनिस्ट पार्टीकै नेता विदेशीको शक्तिको अगाडि आत्मसमर्पण गर्ने र राष्ट्रलाई घात गर्ने, पार्टी विघटन गर्ने घटान पनि भएको बताए।

‘संसारमा सबैभन्दा राष्ट्रवादी मै हुँ भन्ने हिटलर हो। हिटलरले आफूजति राष्ट्रवादी कोही छैनन्, राष्ट्रविरोधीलाई मारेरै सक्नुपर्छ भन्थ्यो उसले। आफूलाई महान राष्ट्रवादी ठान्थ्यो, भन्थ्यो। तर, उजति तानाशाह ऊ जति फासिस्ट अरु कोही पनि भएन। दोस्रो विश्व युद्धमा २ करोड मान्छेको अन्त्यपछि हिटलरको अन्त्य भयो। यस्ता घटना अन्त त हुन्थे’, अध्यक्ष प्रचण्डले भने, ‘अहिले नेपालमा हाम्रै अगाडि केपी ओली नामको व्यक्तिद्वारा संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र सम्मृद्धिको सपना कुल्चिदिने र विदेशी शक्तिका सामू आत्मसमर्पण गर्ने घटना घट्यो।’उनले आफूहरुले ओलीको कदमविरुद्ध आफूहरुले संघर्ष गरेको बताए।


Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!