माओवादी र नेकपा एसले १ सय ६५ सीटमै तालमेल गर्ने, बाहिरियो भित्री तयारी

काठमाडौं – तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई–दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतले त्यसलाई खारेज गरेपछि कांग्रेस नेतृत्वको सरकार बनेको हो । कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा स्वीकार गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अहिले फेरि संसद् विघटन गरेर संसदीय चुनावमा जानुपर्ने पक्षमा एकमत देखिएका छन् ।

विडम्बना यो छ कि हिजो ओलीले गरेको प्रतिनिधिसभा विघटन गर्दा त्यसविरुद्ध सडक आन्दोलन गर्ने र सर्वोच्च अदालतमा मुद्दा हाल्ने प्रचण्ड र माधव नै अहिले किन संसद् विघटन गरेर संसदीय चुनावमा जानुपर्ने एमालेको लाइनमा उभिए भन्ने बडो रहस्यमय छ । राजनीति सबैले देखेको र सोचेको जस्तो सिधा बाटोबाट हिँड्दैन भन्ने कुरालाई फेरि एकपटक पुष्टि गर्न प्रचण्ड, माधवहरू लागिपरेका छन् । आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले जीवनदान दिएर एकीकृत समाजवादी पार्टी खोली त्यसकै सहयोगमा वर्तमान सरकार बनेको भन्दै एमालेले संसद् चल्न दिएको छैन ।

एमालेले संसद् अवरुद्ध गर्ने पहिला आफ्नै पार्टीको नाममा रहेको खराब रेकर्डलाई समेत उछिनिसकेको छ । पहिले एमालेले ५२ दिनसम्म संसद् अवरुछ गरेको थियो । अहिले तीन महिनाभन्दा बढी भइसकेको छ । आफ्नो पार्टी बलियो नै रहेको भन्ने एमालेमा भ्रम अझै छ । त्यसकै लागि ऊ चाँडै चुनाव होस् भन्ने चाहन्छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि एमालेले संसद् अवरोध गरिरहेकाले बरु प्रतिनिधिसभाकै चुनावमा जाऔं भनेर प्रधानमन्त्री देउवासमक्ष प्रस्ताव गरिसकेका छन् ।

आज बस्ने सत्तारुढ पाँच दलको बैठकमा प्रचण्डले सोही प्रस्ताव राख्ने बुझिएको छ । तर यसपटक देउवाले बडो सुझबुझका साथ कुनै पनि निर्णय लिने बुझिएको छ । पार्टीका नेताहरूसँग छलफल र विचार विमर्श नगरी देउवा एक्लै अघि बढ्ने मनस्थितिमा छैनन् । किनभने देउवा विगतको आफ्नो खराब राजनीतिक करियर सच्याउने अभियानमा अघि बढेका छन् ।


Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!